दिगो शान्ति र सुशासनका लागि सरकारको तदारुकता आवश्यक छ : राष्ट्रपति

१०, चैत काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारुकता आवश्यक रहेको बताएका छन् ।

आइतबार शीतल निवासमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको विकास र समृद्धिको उद्देश्य प्राप्तिका साथै दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माणमा सरकारको तदारुकता आवश्यक रहेको बताए । उनले मुलुकमा उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो विकास हुने बताए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मूलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे ।

उनले आगामी दिनमा संविधानको मर्म र भावना बमोजिमका काम कारबाहीहरू क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास लिएको बताए ।