प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

१९, चैत काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने आजको बैठकको कार्यसूची छ ।

त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदन सहितको जलस्रोत विधेयक २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।