प्रदूषित हावाबाट जोगिन चिकित्सकको सुझाव

२४, चैत काडमाडौं  । विगत केही दिनयता देशैभरको वायु प्रदूषित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ ।

वनमा लागेको डढेलो, कृषकहरूले खेतबारीमा संकलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेष गरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ ।

वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा. डा शीतल अधिकारी श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताउँछन् । अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ ।

उनको भनाइमा कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने गर्छ । चितवन मेडिकल कलेजमा कार्यरत अधिकारी भन्छन्, “अस्पतालमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढिरहेको छ, नियमित औषधि सेवन गर्नेलाई यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउँछ ।”

विशेष गरी बालबालिका, वृद्ध वृद्धामा मुटु र मिर्गौलाका रोगीलाई यो प्रदूषणबाट जोगाउनुपर्नेमा चिकित्सकको जोड छ । बालबालिकाको रोगसँग लड्ने क्षमता पूर्ण विकसित नहुने भएकाले उनीहरू बाहिर खेल्दा धुलोको सम्पर्कमा आउँदा दम र श्वासप्रश्वासका समस्या बढ्न सक्ने अधिकारीको भनाइ छ ।