
२९, चैत काठमाडों । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएको छ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई आवतजावतमा सहज बनेको छ ।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने गरी कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण गरिएको हो । पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुलबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । सिग्देलका अनुसार तनहुँतर्फको भाग पुलसँग जोडिएको छ ।
पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ । पुल निर्माणको ठेक्का युनाइटेड बिल्डर्सले पाएको थियो । कुल २१० मिटर लामो उक्त पुल पश्चिम क्षेत्र सेक्टर नम्बर ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । सङ्घीय सरकारको २७ करोड सहयोगमा डबल लेन प्रविधिमा पुल निर्माण गरिएको हो ।
काली गण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो । पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ । छ वर्षको अवधिमा पुल निर्माण भएको हो ।
