भैरव रिसालको पार्थिव शरीर चिकित्साशास्त्रका विद्यार्थीहरु र अनुसन्धानकर्ताहरुको अध्ययन सामग्रीका रुपमा प्रयोग गरिने

२ वैशाख, काठमाडौं। वरिष्ठ पत्रकार भैरव रिसालको पार्थिव शरीरलाई चिकित्साशास्त्रका विद्यार्थीहरु र अनुसन्धानकर्ताहरुको अध्ययन सामग्रीका रुपमा प्रयोग गरिने भएको छ ।यसका लागि उहाँको पार्थिव शरीरलाई जस्ताको तस्तै राखिएको छ ।

निधन भएको २४ घण्टा बित्न नपाउँदै रिसालकै इच्छाबमोजिम परिवारले उहाँको पार्थिव शरीर पाटन विज्ञान प्रतिष्ठानलाई बुझाएको थियो ।

जीवित छँदै रिसालले आफ्नो शेषपछि शरीर दान दिने मन्जुरी दिएको र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गर्ने घोषणा गरेको परिवार स्रोतले बताएको छ ।

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार रिसालको पार्थिव शरीरलाई सड्न नदिनका लागि नसाबाट विभिन्न केमिकल दिएर राखिएको छ ।शरीरलाई लामो समयसम्म राख्न नसड्ने गरी औषधि र रसायनमा राख्नुपर्ने हुँदा यसो गरिएको हो । यसो गर्नुलाई ‘इम्बामिल्ङ’ भनिने उहाँले बताउनुभयो।

‘इम्बाल्मिङ’ गर्दा शरीरको प्रत्येक कोषमा रसायन पुग्ने र यसले वर्षौंसम्म अंगलाई सड्न नदिने उहाँको भनाई छ ।

शाक्यका अनुसार रिसाल परिवारकै अनुरोधमा निधन भएको दुई दिनसम्म विदेशबाट आउने आफन्तले मुख हेर्नका लागि उहाँको पार्थिव शरीरलाई शव गृहमा राखिएको थियो । अहिले उहाँको पार्थिव शरीरलाई एनाटोमी विभागले ‘ट्यांक’मा डुबाएर राखेको छ ।

मानिसको शव अध्ययनको लागि राखिने ट्याङ्कलाई ‘फर्मलिन ट्याङ्क’ वा ‘केमिकल प्रिजर्भेसन ट्याङ्क’ पनि भनिन्छ। यी ट्याङ्कहरूमा फर्मलिन जस्ता रसायनहरू भरिएका हुन्छन्, जसले शवलाई सड्नबाट जोगाउँछन्।