प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

१५, वैशाख काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए । सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राखे ।

त्यस्तै बैठकमा आज ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे ।उनको त्यो प्रस्तावमा सैद्धान्तिक छलफल भयो ।

छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री पाण्डेले जवाफ दिएपछि स्वीकृत भएको छ । त्यसपछि त्यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ ।