
१८, वैशाख काठमाडौं । जिल्ला अस्पताल हुम्लाका चिकित्सकले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
गत कात्तिक महिनादेखि जिल्ला अस्पताल हुम्लामा कार्यरत चार जना चिकित्सकले अस्पतालमा सेवा दिएबापत रकम नपाएको गुनासो गरेका हुन् । छात्रवृत्ति करारमा कार्यरत एमडिजिपी एक जना र मेडिकल अधिकृत तीन जना चिकित्सकले तलब नपाएको बताएका छन् ।
सङ्घीय सरकार र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको लापर्बाहीका कारण उनीहरूले तलब नपाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार पटक पटक कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्दा समेत सुनुवाइ नभएको हो । सात महिनादेखि तलब नपाउँदा व्यक्तिगत काममा खर्च तथा खटनपटन गर्नलाई निकै समस्या परेको जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सक एमडिजिपी हिमविक्रम शाहीले गुनासो गरे ।
तलब नआएकै कारण घरखर्चसमेत टार्न गाह्रो भएको दुःख उनले व्यक्त गरेका छन् । कर्णाली प्रदेश सरकारको लाचारीपनले तलब नआउनुका साथै काम गर्ने जाँगर पनि घट्दै गएको उनले बताए ।
