स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै कर्मचारी आन्दोलनमा, कार्यालयमा हाजिर नहुने चेतावनी

२९, वैशाख काठमाडौं । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढी केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो । धनगढीको पार्कमोडबाट आन्दोलन सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि गएर कर्मचारीहरू धर्ना बसेका छन् ।

आफ्ना माग सम्बोधन गर्न प्रदेश सरकारलाई पटक पटक आग्रह गरे पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ । यस पटक माग सम्बोधन नभए कुनै पनि कर्मचारी स्थानीय तहका कार्यालयमा हाजिर नहुने चेतावनीसमेत दिएका छन् ।

अन्य प्रदेशले स्थानीय सेवा ऐन बनाएर लागू गरिसक्दा सुदूरपश्चिमले ऐन जारी गर्न नसकेको उनीहरूको भनाई छ । ऐन नबन्दा कर्मचारीको सरुवा, बढुवादेखि अन्य वृत्ति विकासमा समस्या भएको उनीहरूले बताए ।