
३१, वैशाख काठमाडौं । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । प्रेस चौतारीले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा लिएको छ ।
जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यवसायीक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे । झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्’, ओलीको भनाइ छ ।
कार्यक्रममा अध्यक्ष गणेश पाण्डेले प्रशिक्षण वर्ष २०८२ अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूका लागि आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता, र श्रम अधिकार जस्ता विषयमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए ।सो कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
