
७, जेठ काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक०,२०८० सम्बन्धमा विषयविज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ । बिहान साढे ७ बजेका लागि बोलाइएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुईवटा उपसमितिले तयार पारेका प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ ।
बिहान साढे ८ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल गर्ने कार्यसूची छ भने दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
