गणतन्त्र दिवसलाई एमालेले उत्सवको रुपमा मनाउने

१२, जेठ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गणतन्त्र दिवस जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिन भएकाले त्यस दिनलाई विजय उत्सवको रूपमा मनाउन आवश्यक रहेको भन्दै तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

आइतबार सम्पन्न पार्टीको केन्द्रीय सचिवालयको ५२ औँ बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेसँगै आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरिएको तयारी भेलामा महासचिव पोखरेलले देशभर पार्टीको आयोजनामा विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने जानकारी गराएका छन्।

उनले काठमाडौं उपत्यकामा तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को एकीकृत कार्यक्रम भृकुटीमण्डपमा आयोजना गरिने जानकारी गराउँदै गणतन्त्र दिवस बलिदानीपूर्ण लामो सङ्घर्ष सफल भएको, जनताले जितेको दिन भएकाले जनताको भव्य सहभागिता गराउन कार्यकर्तालाई निर्देशन दिए ।

नेकपा (एमाले) ले देशका सबै पालिकामा गणतन्त्र दिवस कार्यक्रम आयोजना गर्ने र त्यसको संयोजन पार्टीको जिल्ला कमिटीले गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालय बैठकबाट निर्णय गरी गणतन्त्र दिवस विविध कार्यक्रमको आयोजना गरी उत्सवको रूपमा मनाउन आमजनसमुदायलाई समेत आह्वान गरिएको एमालेले जनाएको छ ।