
२८, जेठ काठमाडौं । हुम्लाकी एक बालिका बेपत्ता भएकी छन् । सिमकोट गाउँपालिका-७ धारापोरी गाउँकी ११ वर्षीया सुनसरी सिंह तीन दिनदेखि बेपत्ता भएकी हुन् ।
पाँच जना साथीहरूसँग खेल्न गएकी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताए । विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताए। परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उनले बताए ।
बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरी चौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत थिइन् ।
