
२९, जेठ काठमाडौं । देशका सञ्चारमाध्यमले बालश्रम एवं बाल अधिकारको सवालमा प्रभावकारी ढंगबाट समाचार सम्प्रेषण गर्नुपर्ने सञ्चारकर्मी एवं सरोकारवाहरुले माग गरेका छन् ।
बालश्रमविरुद्धको विश्व दिवस २०२५ को पूर्वसन्ध्यामा बुधबार बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको बालश्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रममा सहभागीले बालबालिकाको समाचारलाई मिडियाले थप चासोका साथ ठाउँ दिनुपर्ने बताएका हुन् ।
समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) को सहयोगमा सम्पन्न कार्यक्रममा सिविसका एड्भोकेसी एड्भाइजर तथा बालअधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि ११ लाख बालबालिका प्रत्यक्ष रूपमा श्रममा रहेको तथ्यांक राखे ।
‘बालश्रम–खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै उनले श्रममा रहेका ११ लाख बालबालिकामध्ये करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्यांक प्रस्तुत गरे । सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकमा आधारित रहेर प्रस्तुत गरेको कार्यपत्रमा ५ देखि १७ वर्ष उमेर समूहका १३ दशमलव ३ प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेको बताए ।
सिविसले ४०० बाल श्रमिकमा गरेको सर्वेक्षणमा सबभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण बालबालिका श्रममा आएको पाइएको बताए ।बालअधिकारकर्मी घिमिरेले बालश्रम अन्त्यका लागि राज्यले गौरवको योजनाका रूपमा राजनीतिक एजेण्डा बनाएर अगाडि लैजानुपर्ने औँल्याउँदै बालश्रम अन्त्यका लागि बालश्रमिक रहेको क्षेत्रको अनुगमन, तथ्यांक संकलन, अभिभावक शिक्षा, नागरिक अभियान तीनै तहका सरकारको चासो र बालश्रमलाई नाइँ भन्ने अभियान सञ्चालन गर्नुपर्ने बताए ।
