अन्तरमन्त्रालय सहजीकरणमा प्राथमिकता दिन निर्देशन

२९, जेठ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गरेर सहजीकरण गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बुधबारको बैठकमा उहाँले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका हुन् ।

“अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिँडौँ । प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौँ,” उनले भने । व्यावहारिक पक्षलाई हेरेर परिणाममुखी हिसाबले आगामी आर्थिक वर्ष २०८२/८३ को मासिक र वार्षिक लक्ष्य निर्धारण गर्नुपर्नेमा पनि उनले जोड दिए । अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

आगामी बजेट कार्यान्वयनमा जाँदा कानुन संशोधन गर्नुपर्ने आवश्यकता भएकाले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न बैठकमा उनले निर्देशन दिए । त्यस्तै आवको बजेट कार्यान्वयनका लागि पूर्वतयारीका काममा लाग्न पनि उनको निर्देशन थियो ।

बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत लगाएर राजस्व सङ्कलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए ।