विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

२० असार,स्याङजा।स्याङजा र पर्वतको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ ।

मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा परेको हो । साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा छन् ।शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार शिलामा जाने बाटो,नजिकै रहेको सत्तल र परिक्रमा स्थल सबै डुबेको छ ।

जेठ अन्तिम सातादेखि नै शालिग्राम शिला डुबानमा परेको र यतिबेला नियमित वर्षा भएकाले कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ उहाँले बताउनुभयो।

शिला डुबानमा परेसँगै नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजन शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् ।शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइको छ ।

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत,स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो ।

कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेणीबजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ तर्फको बजार क्षेत्रका झण्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।

कालीगण्डकी नदीलाई बहाव परिवर्तन नगरेसम्म जोखिम कायमै रहिरहने गल्याङ–५ का अध्यक्ष घनश्याम भट्टराईले बताउनुभएको छ ।