तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिक स्कुल ,दैलोबाटै गाडी चढेर स्कुल जानेछन् ज्येष्ठ नागरिक

काठमाडौं ।काठमाडौंको तारकेश्वर नगरपालिकाले ज्येष्ठ नागरिकको भावना सम्बोधन गर्न  एउटा नविनतम सोचसँगै ज्येष्ठ नागरिक विद्यालय स्थापना गरेको छ।

नगरपालिकाले ज्येष्ठ नागरिक विद्यालय बनाउने प्रस्ताव संघ सरकारसमक्ष राखेपछि संघ सरकारको विशेष अनुदानमा ज्येष्ठ नागरिक विद्यालय बनाउन नगरपालिका सफल भएको छ ।

नगरपालिकाको वडा नम्बर ६ स्थित पैंयुटार,बङ्गलामुखी मन्दिर नजिक जेष्ठ नागरिक स्कुलको पहिलो भवन बनिसकेको छ ।दोस्रो भवन बनाउने काम भइरहेको नगर प्रमुख कृष्णहरि महर्जनले बताए। 

नगर प्रमुख महर्जनका अनुसार संघ सरकारको कुल ३ करोड बजेटबाट भवन बनाउन लागिएको हो। ‘ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नु नपरोस् भनेर विद्यालय खोल्न लागेका हौँ,’ महर्जनले भने ।

विद्यालय निर्माणको काम सकिएपछि नगर भित्रका ज्येष्ठ नागरिक  विद्यालय जानेछन्।
‘ज्येष्ठ नागरिकलाई लिन घरघरमै बस जान्छ ।विद्यालय आएपछि उहाँहरूलाई मन लागेको काम गर्न सक्नुहुन्छ । नाचगान गर्ने,बत्ति कात्ने, भजन गाउने,’ प्रमुख महर्जनले भने, ‘साँझ आ–आफ्नै घरमा गाडीले नै पुर्‍याउँछ ।’

नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालका अनुसार स्कुलमा होस्टलको पनि व्यवस्था गरिदैं छ ।कसैको हेर्ने कोही पनि छैन भने होस्टेलमा राखिने उनको भनाई छ ।

शिक्षाको गुणस्तर बढाउन नगरपालिकाले प्रधानाध्यापकहरूसँग सम्झौता गर्ने गरेको छ । ‘हामी स्रोत दिन्छौँ, तपाईंहरूले नतिजा दिनुपर्छ भनेका छौँ । शिक्षक दरबन्दी र भौतिक संरचाना चाहिए हामी दिन्छौं । नतिजा तपाईंहरू दिनुहोस् भनेका छौँ,’मेयर महर्जनले भने ।

शिक्षा सुधाको लागि नगरपालिकाले बजेट बढाउँदै लगेको पनि उनले स्पष्ट पारे ।

यस्तै नगरपालिकाले २०८१ बाट कोखदेखि शोकसम्म कार्यक्रम सञ्चालन गरेको छ । स्थायी बसोबास भएका नगरवासीको परिवारभित्र जन्म भएमा प्रतिव्यक्ति ५ हजार र नगरवासीको परिवारभित्र मृत्यु भएमा प्रतिव्यक्ति १० हजार दिने गरेको छ ।

 सुखमा मात्र होइन दुःखमा पनि नगरपालिकाले सहयोग गर्ने गरेको छ। 

नगरपालिकाले नगरवासीको कुरा सुन्न चिया चर्चा कार्यक्रम पनि सुरु गरेको छ। ‘सकारात्मक सोचको विकास गरौं, आफ्नै नगरमा बसी चिया छलफल गरौं’ भन्ने नरासहित चिया चर्चा कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख महर्जनले बताए।

‘प्रत्येक शनिबार एउटा एउटा वडामा चिया चर्चा कार्यक्रम गर्ने गरेका छौँ । चिया चर्चामा नगरका पूर्वजनप्रतिनिधि, पूर्वराष्ट्रसेवक, बुद्धिजीवी, शिक्षक,युवा, महिला,दलका प्रतिनिधिसँग र नगरवासीसँग सल्लाह सुझाव लिने गरेका छौँ,’प्रमुख महर्जनले भने, ‘प्रत्येक शनिबार बिहान साढे ६ बजेदेखि साढे ९ बजेसम्म चिया चर्चा हुन्छ ।’

तारकेश्वरले २०८१ मंसिरबाट ‘क्लोथ एन्ड फुड बैंक’को सहकार्यमा कपडा बैंक पनि सञ्चालन गरेको छ।नगरवासीहरूले आफ्नो प्रयोगमा नआएका लत्ताकपडा, झोला, ब्याग,जुत्ता, चप्पल,बेल्ट तथा पुस्तक पुस्तिका कपडा बैंकमा दिन सक्नेछन्।यसरी संकलन भएको सामग्री विपन्न परिवारलाई वितरण गर्दै अएको उपप्रमुख अर्यालले जानकारी दिइन्।