बागमती प्रदेशमा एमालेले टुङ्ग्यायो ६ मन्त्री,मुख्यमन्त्री बानियाँको शपथ ग्रहण ४ बजे

२१ साउन,मकवानपुर ।बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ।

बानियाँसँगै नेकपा एमालेका तर्फबाट मन्त्रीले पनि आजै शपथ ग्रहण गर्ने छन्।एमालेका अधिकांश मन्त्रीहरू आजै नियुक्त भई शपथ लिने एक सांसदले जानकारी दिएका छन्।

उनका अनुसार एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जना मन्त्री भने पुनः दोहोरिने र अन्य ५ जना नयाँलाई अवसर दिएको छ।

एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसूदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ।स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर दोहोरिने भएका छन्।

उनलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ भने जयराम थापालाई श्रम,रोजगार तथा यातायात मन्त्री,भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री,मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री,डा.दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग,वाणिज्य,भूमि तथा प्रशासन मन्त्री बनाउने एमालेको तयारी छ।

एमालेबाट मन्त्री टुंगिएपनि मन्त्रालयको बारेमा भने फेरबदल हुन सक्ने सम्भावना रहेको पनि उनले इंगित गरेका छन् ।