
३ असोज,काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संवैधानिक वा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम क्षति नपुग्ने गरी निष्कर्ष निकाल्नु उपयुक्त हुने बताएका छन् ।
नेम्वाङले शुक्रबार एक अपिल जारी गर्दै भनेका छन्, ‘मैले प्रिय जेनजी साथीहरुको अडान सुनें, भिडियोहरु हेरें । संविधान र व्यवस्थाप्रति तपाईंहरुले जुन अडान र प्रतिबद्धता जनाउनुभयो । म त्यो अडानप्रति हार्दिक सलाम र सम्मान व्यक्त गर्दछु ।’
गल्तीहरु नेतृत्वमा बस्नेहरुबाटै हुने भन्दै उनले आत्मालोचना र स्वीकारोक्ति जरुरी रहेको बताएका छन् ।
‘जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो । म भन्न चाहन्छु, गल्ती कमजोरीहरु सच्चाएर जानेछौं,’ उनले भनेका छन्, ‘यो अभियानको एक सदस्यको रुपमा आजको तमाम कमजोरीहरुप्रति माफी माग्छु ।’
भदौ २४ गते गरिएको तोडफोड, आगजनी, लुटपाटको दृश्यहरुले असह्य पीडा दिइरहेको भन्दै उनले जेनजीहरुको आन्दोलनमा घुसपैठ गरेर राष्ट्रिय क्षति गराउनेहरु कानुन अनुसार नै दण्डित हुने विश्वास व्यक्त गरेका छन् ।
२४ गतेको घटनासँग मेरो मनमा कैयौं प्रश्नहरु छन् । ‘रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिँडेकाहरुले हाम्रा राष्ट्रिय सम्पदा र सम्पत्तिमाथि किन आगो लगाए रु उनीहरु को थिए,कसले पठाएका थिए, कहाँबाट आएका थिए रु हाम्रो सुन्दर र सुनिश्चत भविष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ ।
सबैभन्दा बढी त हामी युवाहरुले नै खोज्नुपर्नेछ’, सुहाङले भनेका छन् ।
