प्रश्न सोध्ने सञ्चारकर्मी अब सञ्चार सम्बन्धकै जवाफ दिने ठाउँमा

६ असोज,काठमाडौं । साढे २ दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदीश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् ।

सञ्चारमन्त्री बनेका उनले इमेज च्यानल टेलिभिजनमा समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित टक शो ‘हटसिट’ सञ्चालन र्दै अएका थिए । अब भने उनी त्यहाँबाट  सञ्चारमन्त्रीको सिटमा आइपुगेका छन् ।

उनी टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासकदेखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा र चोटिला प्रश्न गर्थे ।सामाजिक सञ्जालहरूमा अन्तर्वार्ता दिने व्यक्तिका विचारभन्दा उनले सोधेका प्रश्नका क्लिपहरू समेत भाइरल हुने गरेका थिए । शासकीय जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न गर्ने खरेल अब वास्तविक रुपमा ती प्रश्नहरूको जवाफ आफैं दिनुपर्ने ठाउँमा आइपुगेका छन् ।

‘मैले आफ्नो सञ्चारकर्ममा वर्षौंदेखि अनेकौं प्रश्न गर्दै आएको थिएँ । आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । अब म मैले सोधेका प्रश्नहरूका कतिपय जवाफ खोज्ने छु,’ नवनियुक्त सञ्चारमन्त्री खरेलले भनेका छन् ।

उनले आफू अहिले कुन अवस्थामा मन्त्री बनेको हेक्का रहेको बताए । ‘एउटा आन्दोलनबाट परिवर्तनका आवाज सम्बोधन गर्नेगरी यो सरकार बनेको छ’ उनले भने,’जेनजीहरूका आवाज र भावनालाई प्रतिनिधित्व गर्दै जिम्मेवारी पूरा गर्नेछु ।’

२०५९ सालमा इमेज च्यानल टिभी सुरुवात हुँदादेखि काम गर्न थालेका दोलखाका खरेलको सञ्चारकर्म मात्र होइन उनको शैक्षिक पृष्ठभूमि पनि यही विषयमा जोडिएको छ ।

उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार स्नातकोत्तर उपाधि हासिल गरेका छन् । हाल चाहिँ उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषयमा विद्यावारिधि गरिरहेका छन् ।