नागरिक एपमा नयाँ सेवा विस्तार, थपिँदैछन् यी सुविधा

२७ चैत, काठमाडौं । सरकारले डिजिटल सुशासनलाई सुदृढ बनाउने दीर्घकालीन लक्ष्यअनुसार नागरिक सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तिब्र बनाएको छ ।

सोही क्रममा निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फत प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको र आगामी एक साताभित्र पूर्ण कार्यान्वयनमा आइसक्ने बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मातहतका सम्बन्धित निकायहरूलाई नागरिक एपमार्फत थप सेवा एकीकृत गर्न तथा डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तारलाई तीव्रता दिन निर्देशन समेत दिएका छन् ।