सर्वोच्चको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू

२८ जेठ, काठमाडौं ।सर्वोच्च अदालतले प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा,भेला, आन्दोलन,नाराजुलुस,प्रदर्शनलगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ ।

नियमित रुपमा हुने,भेला,आन्दोलन,नाराजुलुस लगायतले आफूहरुको पठनपाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेगरेपछि न्यायाधीशहरु मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस,२०८२ मा प्रदर्शनीमार्गमा पठनपाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो।

सर्वोच्च अदालतले अरु ठाँउमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था,अस्पताल लगायतका ठाउमा ध्वनी तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ।

प्रदर्शनी मार्गमा वरपर नेपाल विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र बाल्मिकी क्याम्पस काठमाडौं मोडेल अस्पताल,केएमसी कलेज,नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्र समेत पर्छन।

भृकुटीमण्डपको प्रदर्शनीस्थलमा विभिन्न राजनीतिक कार्यक्रम समेत आयोजना हुन्थ्यो।सर्वोच्च अदालतले त्यसमा रोक लगाउन आदेश दिएको हो।

भृकुटीमण्डपको प्रदर्शनीस्थल समाजकल्याण परिषद्को स्वामित्वमा छ ।  

उक्त स्थलमा सामाजिक,व्यवसायिक,शैक्षिक, बौद्धिक,साँस्कृतिक तथा पुरातात्विक प्रकृतिका भेला प्रदर्शनीबाहेक अरु सभा सम्मेलनका लागि प्रदर्शनीस्थल भाडामा नदिनू भनेर पनि सर्वोच्चले आदेश जारी गरेको हो।