काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले छिट्टै गुठी विधेयक ल्याउने गरी गृहकार्य सुरु गरेको बताउनु भएको छ ।
कार्यदलका सदस्य र सरोकारवालाहरुबीचको अन्तरक्रियामा मन्त्री अधिकारीले सो गुठी विधेयक ल्याउने जानकारी गराउनु भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
पुरानो कानूनका राम्रा कुरालाई स्वीकार गर्दै परिर्वतित समयको मागलाई ध्यानमा राखेर सबै समुदायको अपनत्व रहने गरी गुठी विधेयक ल्याउनका लागि मन्त्रालयले छलफल सुरु गरेको बताइएको छ।
मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले एकीकृत गुठी विधेयकले सबैको भावना समेट्ने बताउनुभयो।कार्यदलले सम्बन्धित सरोकारवालासँग छलफल गरेर लिखित,मौखिक र स्थलगत अध्ययन गरेर मस्यौदा ल्याउने बताउनुभयो।
यसैगरि कार्यक्रममा गुठी संस्थानका गुठी प्रशासक एवं मस्यौदा कार्यदलका संयोजक किरण शाक्यले सबै समुदायको भावनाको प्रतिनिधित्व रहने र विगतका कमी कमजोरी नदोहोरिने गरी नयाँ ऐनको मस्यौदा बनाउने बताउनुभयो।२०७५ सालमा नेवा समुदायलेले गरेको गुठी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्ने र बढीभन्दा बढी सरोकारवालासँग कार्यदलले छलफल गर्ने योजना रहेको बताउनुभयो।
उक्त कार्यक्रममा, बागमती प्रदेश सभा सदस्य प्रेमभक्त महर्जन र पूर्वमन्त्री केशवमान शाक्यले गुठी संस्थान स्वायत्त निकाय हुनु पर्ने र समस्यालाई एकिकृतरुपमा सम्बोधन गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।पहिला छलफल बिनानै पुरानो विधेयक बनाइएकाले आन्दोलन भएको भन्दै उहाँले धर्म, संस्कृति र परम्परासंग गुठी जोड्नु पर्ने आवश्यक्ता औल्याउनुभयो ।
कार्यक्रममा नेवा संगठनका पुर्व अध्यक्ष एवं गुठी आन्दोलनका अगुवा नरेश ताम्राकार गुठी विधेयक आन्दोलन समितिका सदस्य श्री कृष्ण महर्जन, निरञ्जन पौडेल, नरेश शाक्य, सुरेश मानन्धर, सुनिल मर्हजन, कानून व्यवसायी नरेश श्रेष्ठ लगायतले गुठी संरक्षणमा सरकारको ध्यानाकृष्ट हुनुपर्ने बताउनुभएको थियो ।
