एपीएफ गोदाम आगलागीको छानबिन समितिले बुझायो प्रतिवेदन,खुलेन कारण

काठमाडौं ।सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय गोदाममा भएको आगलागीको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।प्रतिवेदनमा  घटनामा सुरक्षामा गम्भीर लापरबाही देखिएको उल्लेख छ।

१७ दिन लगाएर छानविन गरेर बुझाएको प्रतिवेदनमा सुरक्षामा धेरै लापरबाही गरेको औंल्याए पनि आगलागीको कारण भने खुलाएको छैन।

मुख्यालयको भण्डारण शाखाले सुरक्षा गर्नुपर्ने तर गोदाम भने नं.९ बाहिनीको कम्पान्डमा हुँदा सुरक्षामा ‘डुप्लिकेसन’ भएको समितिले निष्कर्ष निकालेको छ । गोदाम बलम्बुमा रहेको तर सुरक्षा भने हलचोकबाट गर्दा दुरीको हिसाबले पनि टाढा रहेकाले राम्रोसँग सुरक्षा दिन नसकेको समितिको भनाई छ ।

सीसी क्यामेराबाट निगरानी नगरिएको,गोदमको नियमित अनुगमन नगरिएको पनि  समितिले औंल्याएको छ ।भैपरी आउने विपद्‌बाट जोगिनका लागि सुरक्षा व्यवस्था चुस्त राख्न चुकेको प्रतिवेदनमा जनाइएको छ ।

सामान्य सतकर्ता पनि नअपनाएको,तुरुन्तै जल्ने प्रकृतिका सामान र अन्य सामान एकै स्थानमा राखिएको,दमकल आउनसमेत ढिला गरेको जस्ता विषय प्रतिवेदनमा उल्लेख छन्।आगलागीमा करिब डेढ करोडको लागतमा बनेको भवन र ५ करोडका सामान जलेको जनाइएको छ।

२६ चैत साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाममा आगलागी भएको थियो ।

आगलागीको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा सशस्त्रका डीआईजी किशोर प्रधान,महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि,गृहका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ रहेको समिति गठन गरेको थियो।

समितिले प्रस्ताव गरेका सुझाब यस्ता छन् –

– प्रज्वलनशील र कम प्रज्वलनशील गरेर सामान छुट्टाएर राख्नुपर्ने,
– २४सै घण्टा सुरक्षाको व्यवस्था मिलाउनुपर्ने, गोदाम बनाउँदा बस्तीबाट टाढा एकान्त ठाउँमा बनाउनुपर्ने,
–सीसी क्यामेराको निगरानीमा हुनुपर्ने

– ‘फायर अर्लाम’को व्यवस्था हुनुपर्ने,
–गोदामका सामान चाँडो वितरण गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने र सुरक्षाका लागि निश्चित व्यक्ति तोकिनुपर्ने लगायतका सुझाव समितिले दिएको छ ।