
काठमाडौँ । गर्मी बढेसँगै छालामा विभिन्न खालका समस्याहरु बढ्न सक्छ । विशेषगरी बढी पसिना आउनाले एलर्जीको जोखिम देखिन सक्छ । जसबाट जोगिन विभिन्न उपायहरु अपनाउन सकिन्छ ।
१) दिनदिनै नुहाउने
गर्मी मौसममा दिनदिनै नुहाउनु उपयुक्त मानिन्छ । नुहाउँदा शरीरमा भएको फोहोर रहिरहन पाउँदैन । साथै पसिना पनि पखालिने गर्छ ।
२) बडी लोसन लगाउने
नुहाइसकेपछि छाला खस्रो हुने गर्छ । छाला खस्रो हुँदा चिलाउने गर्छ । जसका लागि बडी लोसन लगाउनु उपयुक्त मानिन्छ ।
३) फेसवासको प्रयोग
गर्मी मौसममा बिहान र बेलुका फेसवासले अनुहार सफा गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको धुलोमैलो निकाल्न मद्दत पुर्याउँछ भने छालालाई पनि फ्रेस बनाउँछ ।
४) मोइस्चराइजरको प्रयोग
फेसवासले मुख सफा गरिसकेपछि मोइस्चराइजरको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले छालालाई मुलायम राख्न सघाउ पुर्याउँछ । छाला फुट्ने, चिलाउने आदि समस्याबाट पनि यसले जोगाउँछ । छालालाई ग्लो बनाउन यसले मद्दत पुर्याउँछ ।
५) सनस्क्रिन क्रिम लगाउने
गर्मी मौसममा घाममा निस्कँदा अनिवार्य रुपमा सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । यो क्रिम अनिवार्य रुपमा घाममा निस्कने १५–२० मिनेट अगाडि अनुहारमा मात्र नभई कपडाले नढाक्ने ठाउँमा समेत लगाउनुपर्छ । यसले छालालाई घामको विकिरणबाट बचाउँछ । सनस्क्रिन घरबाहिर हिंड्दा मात्र नभई घरभित्र बस्दा पनि सनस्क्रिन लगाउनु उपयुक्त मानिन्छ ।
६) पाउडरको प्रयोग
गर्मीमा धेरै पसिना आउँदा पाउडरको प्रयोग गर्नुपर्छ । यसले फंगसको जोखिमबाट समेत बचाउँछ ।
७) प्रशस्त पानी पिउने
गर्मीमा पसिना आउँदा पानीको कमी हुने गर्छ । पानीको कमी हुँदा छाला सुख्खा हुने, एलर्जी आउने, अनुहारमा दाग आउने लगायतका समस्या समेत हुने गर्छन् । पानीले शरीरभित्र भएको विशाक्त पदार्थलाई निकाल्ने गर्छ । जसबाट अनुहारमा चमक आउने गर्छ ।
८) खानपान र व्यायाममा सन्तुलन मिलाउने
छालाको लागि बाहिर क्रिम लगाएर मात्र होइन, शरीर स्वस्थ भएर पनि छाला स्वस्थ बनाउन सकिन्छ । जस्तै, भिटामिनयुक्त खानेकुरामा गोलभेंडा, कागती, अण्डा, दूध, दही, हरियो सागपात, एभोकार्डो खानामा समावेश गर्नुपर्छ । साथै हेल्दी डाइट, पर्याप्त निद्रा र योगा गरेमा छाला चम्किलो ९ग्लो० दिन्छ ।
