गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दाः न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलास

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता हुने वा नहुनेबारे बहस हुने जनाइएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए ।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि मिति तोक्दै बोलाएको थियो ।

आज हुने सुनुवाइले गण्डकी प्रदेशको सरकारको भविष्य निर्धारण गर्ने छ। सर्वोच्चले अन्तरिम आदेश मुद्दाको फैसला नभएसम्मका लागि निरन्तरता दिएमा अधिकारी मुख्यमन्त्री पदमा रहने छैनन् ।