काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल आज हुँदैछ । पहिलो ‘क्वालिफायर’ खेलमा कोलकाता नाइट र राइडर्सले सनराइजर्स हैदराबाद भिड्दै छन् ।
उक्त खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित टोलीले भने ‘एलिमिनेटर’ खेलको विजेतासँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ ।
कोलकाता नाइट राइडर्स लिग चरणको खेलमा पहिलो हुँदै प्ले–अफ चरणमा प्रवेश गरेको हो । कोलकाताले लिग चरणमा आफूले खेलेको १४ मध्ये नौ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । कोलकाताको दुई खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।
यसैगरी हैदराबाद लिग चरणमा १७ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेर प्ले–अफ चरणमा प्रवेश गरेको हो । हैदराबादले लिग चरणमा खेलेको १४ मध्ये आठ खेलमा जित र पाँच खेलमा हारको नतिजा निकाल्यो । हैदराबादको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।
अहमदाबादमा हालसम्म खेलिएको कुल खेलमध्ये ६७ प्रतिशत नजिता कोलकाताको पक्षमा गएको छ । हैदराबाद भने यो स्टेडियममा पहिलो जितको खोजिमा देखिन्छ । आईपीएलको इतिहासमा कोलकाताले आठौँ र हैदराबादले सातौँ पटक प्ले–अफ चरणमा स्थान बनाएका हुन् ।
