
काठमाडौं। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कसँगको सहकार्यमा “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गरेको छ ।
मंगलबार महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सो कार्यक्रमको शुभारम्भ गर्दै यस्ता कार्यक्रम आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताइन्।
यस्ता कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग र समुदायका व्यक्तिलाई समेट्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भनिन्, ‘जो थिचोमिचोमा परेका छन्, जो सीमान्तकृत समुदायका वर्ग छन्,उनिहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।
उनले यसमा महिलाको सुरक्षा,सुरक्षित आवास,सेल्टर,अस्पतालहरूमा उपचार लगायतको विषय समेटिएको भन्दै यस्ता कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग,तराई–पहाड फास्ट ट्रर्याकले छुने पालिकाहरू,सिमाना क्षेत्रका महिलाहरूलाई लक्षित गरिने बताइन।
महिला हिंसाका घटनाहरूमा तत्काल रेस्पोन्स नगर्ने परिपाटी रहेकोमा निर्देशन दिँदै उनले भनिन,‘महिला हिंसाका घटनाहरूको तत्काल रेस्पोन्स गर्नुस्।हिंसाका घटनाहरू अझै पनि रोकिएनन्,यसमा अझ बढी संवेदनशील भएर काम गर्नुस्’।
मन्त्री चौधरीले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण जस्ता घटनाहरूमा बढी संवेदनशील भएर काम गर्न विकास साझेदार संस्थाहरूलाईसमेत आग्रह गरेकी छन्।
उनले गरिबीको रेखामुनि रहेका व्यक्तिको आर्थिक अवस्था माथि उठाउने काम गर्न आग्रह गर्दै परियोजना सञ्चालन हुने पालिकाहरूमा महिला हिंसा शून्य पार्ने गरी काम गर्न आग्रह समेत गरेकी छन् ।
हाल ६ वटा पालिकामा यो परियोजना सञ्चालन भएको बताइएको छ।
