
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी दिएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।
लामिछानेले फेसबुकमा लेखेका छन्, ‘नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्यो, दुर्भाग्य ! अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ।नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’
सन्दिपको आजै अमेरिका जाने तयारी थियो।यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो।त्यसपछि अमेरिकाले यस अघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।
