
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ।
निर्देशिकाले शिक्षकले सरुवाका लागि आफैं विभिन्न ठाँउमा धाउनुपर्ने व्यवस्था अन्त्य गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत निर्देशिकामा आवश्यकता अनुसार शिक्षकको पद रिक्त भएपछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा राखेर सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।
त्यस्तो सूचना स्थानीय तहले आफ्नो वेबसाइट समेत प्रकाशन गर्नु पर्नेछ। स्थानीय तहले अद्यावधिक गरेको रिक्त पदको विवरण केन्द्रले आफ्नो वेबसाइटमा सबैको जानकारीका लागि राख्नुपर्नेछ।
मन्त्रालयले शिक्षक सरुवा सम्बन्धि विभिन्न गुनासा सम्बोधन गर्न जिल्लान्तर सरुवा रोक्का गरेको थियो। यही निर्देशिका बमोजिम शिक्षक सरुवा र व्यवस्थापन सुचारु मन्त्रालयले जनाएको छ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बताइन् । ‘शिक्षण पेशालाई गुणस्तरीय, आकर्षक र मर्यादित बनाउने हाम्रो प्रयास हो। शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन, तालिमलगायतमा मन्त्रालयको सुधारको कार्ययोजनामा यो निर्देशिका प्रस्थानबिन्दु हो,’ उनले भनिन्।
