अफगानिस्तानमा बाढीः १६ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा बाढीका कारण १६ जनाले ज्यान गुमाएका छन् । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीका कारण पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको स्थानीय अधिकारीहरुले बताए ।

टोलो न्यूजकाअनुसार बाढीले डान्ड–ए–घोरी, दोसी, पुल–ए–खुमरी सहर, मध्य बदख्सानको मोरचक र यी प्रान्तका अन्य भागहरूमा असर पारेको छ । बाघलान प्रहरी कमान्डका प्रमुख अब्दुल गफुर खादेमले आइतबार राति बाढी आउँदा बाघलान प्रान्तको दोसी जिल्लाको लारखाब क्षेत्रमा व्यापाक क्षति भएको बताए ।

लर्खाबमा तीन बालबालिका, एक महिला र दुई पुरुषसहित पाँचजनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् ।