महिलाहरु सुखी भए मात्रै देश समृद्ध बन्छ : पूर्वप्रधानमन्त्री ओली

सीता पौडेल(अर्चना)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिलाहरु सामाजिक,आर्थिक,राजनीतिक रुपमा सबल बन्न सकेमात्रै देशले लिएको ‘सुखी नेपाली,समृद्ध नेपालको राष्ट्रिय आकाँक्षा पुरा हुने बताएका छन्।

नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको दुई दिने राष्ट्रिय महिला भेलाको बुधवारको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले  हरेक दृष्टिकोणबाट महिला सशक्त बन्न सके मात्रै देश सशक्त र समृद्ध बन्ने भन्दै महिलाहरु क्षणिक खुशीको लागि नभएर दीर्घकालिन खुशीको लागि छुद्र विषयमा नअल्झिएर आत्मनिर्भर बन्नु पर्ने आवश्यक्ता औंल्याएका हुन् ।

छैंटौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित सो भेलामा अध्यक्ष ओलीले महिला अधिकारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि अझै पनि सन्तुष्ट हुने अवस्था नरहेको भन्दै सबै नेपालीको हक,अधिकार सुरक्षित भएमा मात्र देश समृद्ध हुने बताए।उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि समाजका हरेक वर्ग एकजुुट हुनु पर्ने आवश्यक्ता औंल्याए।

२०६३ जेठ १६ गते प्रतिनिधि सभाबाट पारित महिला अधिकारसम्बन्धी चार बुँदे सङ्कल्प प्रस्तावले भविष्यको दिशा निर्देश गरेको भन्दै  उनले महिला अधिकारका दृष्टिकोणले जेठ १६ निकै महत्वपूर्ण रहेको स्पष्ट पारे ।

एमालेलाई ध्वस्त बनाउन खोजिएको बेलामा महिला र युवाहरू पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उभिएको विगत स्मरण गर्दै  उनले पार्टीलाई अप्ठयारो र संकट परेका बेलामा महिलाहरु कत्तिपनि विचलित भनइकन देवीको रुपमा प्रकट भएर पार्टीको मोचा समाल्दै आएकोमा पार्टी नेतृत्वका महिलाहरुको खुलेर प्रसंसा गरे।

समाजमा केही गर्न खोज्नेलाई भाँजो हाल्ने,रिस गर्ने,विद्रोह गर्न बाध्य बनाउने र विभिन्न अप्ठयारो अवस्था आउन सक्ने महिला नेतृत्वको इतिहासलाई उजागर गर्दै उनले पार्टी,समाज र देश निर्माणको लागि घर छोडेर नभइ घरैबसेर सबै व्यवस्थापनका साथ सुख र समृद्धी हाँसिल गर्न आग्रह गरे । उनले महिलाले नेतृत्व गर्दै गर्दा अप्ठारो अवस्था वा मनमुटावको अवस्था आयो भने त्यसलाई डटेर सामना गर्न र नेतृत्व लिएरै छाड्ने संकल्पका साथ अगाडि बढ्न पनि सबै महिलाहरुलाई आग्रह गरे ।

खासगरि महिला नेतृत्वहरुमा बढी मात्रामा वैचारिक स्पष्टता र दृढ अडानको महसुस भएको भन्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न महिला नेतृत्व अपरिहार्य शक्ति भएको जिकिर गरे।

एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेहरू नै आज टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेको दाबी गर्दै अध्यक्ष ओलीले एमाले नै सबैभन्दा ठूलो र राष्ट्रिय शक्तिका रुपमा खडा भएको जिकिर गरे । सामाजिक न्याय र समानताको आन्दोलन महिलाको मात्र नभई पुरुष र सिङ्गो समाजको आन्दोलन भएकाले महिला अधिकारका विषयमा हरेक पुरुषको साथ र सहयोग हुने पर्ने उनको भनाई छ। 

 

उनले महिलाहरुले उद्यमशीलतालाई अवलम्बन गर्नु पर्ने,आर्थिक रुपमा सबल र सक्षम बन्नु पर्ने,आफ्नो सुखसँगै राष्ट्रिय आकांक्षा पुरा गर्न अझ बढी महिला शसक्तिकरणको आवश्यकता  रहेको बताए। 

अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्रा हमालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य तथा कार्यपत्र तयारी समितिका संयोजक विद्या भट्टराईले भेलामा छलफल गरिने ‘महिला आन्दोलनका उपलब्धि र भावी दिशा’ विषयमा कार्यपत्र प्रस्तुत गरेकि थिइन् ।

भने,केन्द्रीय सदस्य रचना खड्काले भेलाको दोस्रो दिन बिहिवार महिला अधिकार, कार्यान्वयनको अवस्था,भावी दिशा र समसामयिक विषयहरू जलवायु परिवर्तन,आप्रवासन, बसाइँसराइ लगायतका विषयमा विभिन्न १२ वटा समुहमा आधारित भएर समूहगत छलफल हुने जानकारी दिएकी थिइन्। 

भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रिमोटबाट स्वीच अन गरि पानसमा बक्ति बालेर उद्घाटन गरेकी थिइन् ।

समारोहमा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी,अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब ५ हजारको उपस्थिति रहेको संयन्त्रले जनाएको छ ।