
काठमाडौं । ‘श्रमाधान रोजगार मेला’ आजदेखि सुरु हुँदैछ । कोशी प्रदेशको विराटनगर स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आज र भोलि हुने मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरू, विराटनगर महानगरपालि प्रमुखलगायतका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।
आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’को आयोजकका रुपमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका पनि रहेको छ ।
श्रममन्त्री अर्यालका अनुसार नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो ।
देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशको विराटनगरबाट जेठ १७ गते सुरु भएर बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते सम्पन्न हुनेछ ।
