मनसुनजन्य विपद्‍बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने 

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने तथा १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आङ्कलन रहेको जानकारी दिएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन् ।

उनले पोस्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरू गर्ने बताए । उनले आजबाट सुरु हुने गरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए ।

उनले भने, ‘कार्यकारी समितिको बैठकबाट मनसुन सुरु भएदेखि अन्त्य नभएसम्मका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिवका नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गर्ने निर्णय भएको छ । जसमा सबै सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न मन्त्रालय र विभागका प्रथम श्रेणीका अधिकारीहरूले कार्य गर्नेछन् ।

कमान्ड पोस्टले मौसम पूर्वानुमानको जानकारी लिई, जोखिमको आङ्कलन गरी, प्रभावका आधारमा पूर्वतयारी र विपद्का घटनापछिको प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न, गराउनका लागि वानस्टप सेन्टरको रूपमा संयोजनकारी भूमिका खेल्नेछ । यसै पोस्टले विपद् व्यवस्थापनका लागि परिचालित हुने सरकारी, गैरसरकारी एवं वैदेशिक सहयोगबाट प्राप्त हुने सामग्रीको परिचालनमा समेत समन्वय गर्नेछ ।’