पार्टीका काममा महिलाको सहभागिता बढाउन जरुरी : अध्यक्ष ओली

चितवन ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको काममा महिलाको सहभागिता बढाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।

शुक्रबार एमाले चितवनको नवनिर्वाचित समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीले गरेका कामलाई महिला नेतृत्वहरुले राम्रोसँग साथ र समर्थन सँगै पूर्ण जिम्मेवार भएर काम गर्दै आएको जिकिर गरे ।महिलाले नेतृत्व गरेका ठाउँमा राम्रो नतिजा आएको स्मरण गराउँदै उनले पार्टीका काम जतिसक्दो महिलाहरूको बीचमा लैजान निर्देशन पनि दिए।साथै उनले महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा भ्रष्टाचारसमेत र व्यवस्थापन समेत चुस्त दुरुस्त रहेको बताए ।

 समारोहमा अध्यक्ष ओलीले भगवान् रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको जिकिर गरे।उनले भने, “पौराणीक मान्यता र शास्त्रहरुमा राम माडीमा नै जन्मिएको स्पष्ट छ ।धेरै सूचकले यही कुरा देखाउँछ ।”माडीमा राम मन्दिर बनाउने र धार्मिक पर्यटक भित्र्याएर माडीलाई मडी(रत्न वा हिरा) बढाउन सकिने बताए ।माडी जाने निकुञ्जको बाटो कालोपत्रे हुनुपर्ने आवश्यकता औंल्याए।

एमालेको मिसन,२०८४का लागि अध्यक्ष ओलीले चितवनका सात वटै पालिका र सबै वडा जित्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, “चितवन बनाउने हो भने एमालेलाई जिताउनु पर्छ।वडादेखि पालिका सबै एमालेले जित्नुपर्छ ।” पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन पर्छ ।” उनले भने, “आन्तरिक सङ्घर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गुरु बराल, चितवन जिल्ला इञ्चार्ज पार्वत गुरुङ, नवनिर्वाचित अध्यक्ष कमल पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले धारणा राखेका थिए।

एमाले चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो ।