तराईमा तातो हावाको लहर बढ्नसक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको जानकारी दिइन् ।

विभागले भनेको छ, “तराईका भूभागमा जेठ २८ गतेसम्म तातो हावासँगै तातो लहर ‘लू’ को सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।” मौसमविद् महर्जनका अनुसार यसअघि नेपालगञ्जमा यो वर्षको सबैभन्दा बढी ४४।२ डिग्री र धनगढीमा ४४।१ डिग्री तापक्रम मापन भएको थियो ।