
काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार नक्सालको भाटभटेनी नजिकको आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्टमा सो साधारण सभा सम्पन्न भएको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १. ३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निणर्य गरेर प्रस्तावित लाभांश सभाले पारित गरेको छ।
सभाले अध्यक्षको प्रतिवेदन,आर्थिक वर्ष(आव) २०७९÷०८० को वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन आव २०७९र८० वासलात,नाफा नोक्सान हिसाब,इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरु सहितको वितीय विवरण पनि पारित गरेको हो।
कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आव २०८०र०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भए बमोजिम बाहय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालक निर्वाचनबाट छनौट गर्ने,सञ्चालक समितिको बैठकमा उपस्थित भए बापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकन गर्ने,बोनस शेयर जारी गरेर चुक्ता पूँजी रु पाँच अर्व कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिर्वतन हुने भएकोले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने सम्बन्धी प्रस्ताव समेत पारित भएको थियो।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ ।
