नार्क बुलेटिन : मनसुनमा बढी वर्षा हुने हुँदा पानी निकासको उचित व्यवस्था समयमै गर्नु

काठमाडौं ।सोमबारदेखि नेपालको कोशी प्रदेशको पूर्वी भू–भागबाट मनसुन भित्रिएको छ।मनसुनमा बढी वर्षा हुने हुँदा सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सुझाव दिएको छ।

नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन मार्फत आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार यसले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाएको छ।मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरा क्षेत्रमा बढी पानी पर्ने देखिएकाले सुक्खा र डुबान सहन सक्ने धानका जातहरू रोपाइँ गर्न पनि नार्कले सुझाएको छ।

नार्कले खासगरी मध्य पहाडी क्षेत्रमा अत्यधिक वर्षाले निम्त्याउन सक्ने जोखिम न्युनिकरणका लागि गरो–कान्ला खेती प्रणालीमा ध्यान दिन भनेको छ।

त्यस्तैगरि संरक्षित संरचना (प्लास्टिक घर) निर्माण गरी खेती गर्ने किसानहरूले संरचना बनाउँदा पानी नजम्ने स्थान छान्नु पर्ने र बनिसकेका संरचनाहरूको निरीक्षण गरी मनसुन पूर्व नै आवश्यक मर्मत–सम्भार गर्न सुझाइएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए तापनि मौसम तीन दिन छिटो भित्रिएको छ।