नेतृत्व चयनका लागि जसपा नेपालको निर्वाचन प्रक्रिया सुरु

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु गरेको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि निर्वाचन प्रक्रियाको सुरु भएको हो ।

पदाधिकारी तथा सदस्यहरूमा नेतृत्व चयनका लागि नोमिनेशन कार्यतालिका सार्वजनिक गरिएको छ । मतदाताहरूको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन कार्यतालिका मंगलबार राती नै सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा अपराह्नदेखि ४ बजेदेखि हुने निर्वाचनका लागि बिहान साढे ८ बजेदेखि मनोनयन (नोमिनेशन) को कार्यतालिका राखिएको छ ।

त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ ।