
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको बंगलादेशसँगको खेलमा नेपाल २१ रनले पराजित भएको हो ।
एक सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।
नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए । ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए । उनी प्लेयर अफ द म्याच चुनिए ।
त्यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साकिब अल हसनले २ विकेट लिए ।
नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।
दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।
किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।
नेपाली टोलीका बलर सोमपाल कामी, सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीपले एक सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् ।
