
सीता पौडेल(अर्चना)
काठमाडौं ।आगामी वर्ष (मे ३०–३१ तारिख २०२५) मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासहित काठमाडौंमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट–२०२४) सम्पन्न भएको छ ।
समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन,काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सो दुई दिने एक्सपो सञ्चालन भएको थियो।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रवार उद्घाटन गरेको नाइट–२०२४को काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शनिवार समापन गरेकी थिइन् ।
कार्यक्रममा उपमेयर डङ्गोल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले नेपालको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक भएको भन्दै आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै कार्यक्रममा ताइवानी प्रतिनिधि तथा पर्यटन विज्ञ डा. क्रिस्टि चेङ्ग, बुद्धिष्ट टुर अपरेटर (आबटो) भारतका महासचिव डा. कौशलेश कुमार,बिहार टुरिजमका प्रतिनिधी प्रकाश चन्द लगायतले नाइट एक्सपोका लागि आफुहरुको सहभागिता फलयादी भएको प्रतिक्रिया दिए ।भने,नेपालको पर्यटन प्रर्वद्धनका लाागि आफुहरु सधैं सकारात्मक भएको बताए ।
एक्सोपोमा विभिन्न संस्थाहरुले स्टलहरु राखेर आ-आफ्ना बस्तु र सेवाबारे जानकारी गराएका थिए ।यसै अवसरमा काठमाडौंको धुम्बाराहीमा अवस्थित हेम्स अस्पतालका बजार व्यवस्थापकहरुले अस्पतालले पनि विरामीलाई दिने सेवा सुविधाबारे जानकारी गराएका थिए ।

भने,एक्सपोमा थप आकर्षणका रुपमा नेवारी संस्कारको समयबजी,शुद्ध रक्सी बनाउने तरिका,यमरी बनाउने तरिकाबारे अवलोकनकर्ताहरुलाई जानकारी गराउनुका साथै इन्द्र जात्राको रथको नमुना,मिथिला आर्ट,हस्तकला लगायतका सामाग्रीहरुको प्रदर्शनि समेत गरिएको थियो।


मलेशियाको मलेशिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्ड समेतको सहभागिता रहेको एक्सपोमा सार्क तथा अन्य क्षेत्रका गरि १६ देश,१५० विक्रेता,२५० क्रेता तथा ५ हजार भन्दा बढि आगन्तुकको सहभागिता रहेको एस्क्पोमा शुक्रवार र शनिवार पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समुह छलफल (प्यानल डिस्कसन) भएका थिए।


नेपालमा पहिलो पटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी भएको नाइट संस्थापक÷संयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले बताएका छन् ।


