ललितपुर महानगरको नीति :सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिने

सीता पौडेल(अर्चना)

ललितपुर ।ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव)०८१ ÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।बुधबार भएको ललितपुर महानगरपालिकाको ५ औं नगर सभामा महानगर प्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

मेयर महर्जनले सो नगर सभामा आगामी आवको ३३६ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर महर्जनले २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी स् घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको उल्लेख गरेका छन् ।

महर्जनले प्रस्तुत गरेको आव ०८१÷८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाभित्र लामो समयदेखि अधुरा रहेका प्राविधिक,सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिने उल्लेख गरिएको छ। त्यस्तै आगामी आवदेखि आयोजना बैङ्कबाट आयोजना छनोट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटी विकास गरिने नीति लिएको जनाएको छ।

महानगरले सोका लागि पेश्की आयोजना फर्छ्योट कार्यदल गठन गर्ने र महानगर क्षेत्रभित्र आव ०७४÷७५ देखि ०७९÷८० सम्म सम्झौता भई सञ्चालन भएका तर विविध कारणले सम्पन्न हुन नसकेका र प्रचलित कार्यविधिबमोजिम म्याद थप हुन नसक्ने आयोजनाको हकमा सम्बन्धित उपभोक्ता समितिबाट मूल्याङ्कन गरी फछ्र्यौटका लागि निवेदन पेश हुन आएमा उक्त आयोजना जेजस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गरी फछ्र्यौट गर्ने नीतिसमेत तय गरेको छ।

स्वच्छ र सफा वा धुलोरहित सडक व्यवस्थापनका लागि नख्खु खोला तथा अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने र बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि ललितपुर चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानमा आकाशे पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा समेटिएको मेयर महर्जनले उल्लेख गरेका छन्।

महानगरले यस नीति तथा कार्यक्रममा टिपरलगायत मालवाहक सवारीसाधनको आवागमन करिडोर (नख्खु, बागमती)बाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गर्ने ठैव,हरिसिद्धि, धापाखेललगायत आवासीय क्षेत्रबाट टिपर चलाउन नपाउने गरी समन्वय गर्ने,महानगर क्षेत्रभित्र रहेका शिल्पकला,काष्ठकला,धातुकला, प्रस्तरकलासँग सम्बन्धित श्रमिकको लगत ‘श्रम बैङ्क’का रुपमा तयार गरी सम्पदा संरक्षणका आयोजनामा परिचालन गर्ने व्यवस्था मिलाउने जनाएको छ। 

यसैगरि ललितपुर महानगरले पुरातात्विक संरचना,देवालय, शिवालय, मठ, मन्दिर, विहारमा प्रयोग हुने काठ, ढुङ्गा, माटो एवं धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गर्ने लगायतका विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ।