पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

काठमाडौं।बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आफैंले बोक्ने राइफलबाट गोली हानेर आत्महत्या गरेको भनिएका प्रहरी जवान अजित गोलेले पाँच महिनाअघि मात्रै इन्गेजमेन्ट गरेको खुलेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले पनि ड्यूटीमै रहेका प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा तनाव भएका कारण आफैंलाई निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।प्रहरीको अनुसन्धान अनुसार प्रेमिकाले विदेश गएपछि आफूलाई बेवास्ता गर्दै आएको गुनासो पनि गोलेले गर्दै आएका थिए ।

गोलेले गर्दै आएको गुनासो र घटनाको तत्कालीन अवस्थाको विश्लेषणका आधारमा प्रहरीले प्रेमिकासँगकै विवादका कारण गोलेले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ ।प्रहरीले गोलेको मोबाइलका फेसबुक म्यासेन्ज र अन्य म्यासेजको पनि अध्ययन गरिरहेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ निवासी २२ वर्षीय प्रहरी जवान उनले सुरक्षाका लागि प्रयोग गर्दै आएको इन्सास राइफलले आफ्नै निधारमा गोली हानेर ज्यान गएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।संसद् भवनको २ नम्बर गेटमा बुधबार बिहानै ६ बजेदेखि १० बजेसम्मको ड्यूटीमा तैनाथ उनी ८ बजे इन्सास बोकेरै शौचालय छिरेको र दुबईमा रहेकी प्रेमिकासँग भिडियो कलमा कुराकानी गरेको बताइएको छ ।

५ महिनाअघि इन्गेजमेन्ट गरेर दुबई गएकी प्रेमिकासँग भिडियो कलमा कुरा गरेकै अवस्थामा उनले इन्सास राइफाल भुइँमा ठड्याएर आफ्नो निधारमा गोली हानेको प्रहरीको भनाई छ ।

प्रहरी जवान गोलेको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनले प्रयोग गर्ने मोबाइल पनि प्रहरीले परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।