काठमाडौँ । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् ।
शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।
उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।
फागुन २४ देखि प्रसारण सुरू भएको पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट १० चयन गरी त्यसबाट भोटिङको आधारमा टप ४ सम्म छनौट गरी फाइनलमा चार जनाबीच प्रतिष्पर्धा गराइएको थियो ।
