
सीता पौडेल(अर्चना)
काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ को नयाँबजार स्थित पुरानो धारा अगाडीको नयाँबजार–सोह्रखुट्टे सडकमा खानेपानीको पाइप फुटेर पानीको फ्लोका कारण सडक भासिएको करिब ७ घण्टा भयो तर यो सडकको मर्मत अझै हुन सकेको छैन ।
आज बुधबार बिहान करिब ५ः३० बजेतिरको समयमा सडक भासिएको देखेपछि कार्यवाहक वडा अध्यक्ष पुष्प महर्जनलाई मनिङ वाक गरिरहेका एक स्थानीयले फोन गरेर जानकारी दिए । त्यसलगतै अध्यक्ष महर्जन त्यहाँ पुगे र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का एक इन्जिनियरलाई फोन गरे ।
तर उनको फोन उठेन ।फेरी उनले ८ः३० बजेतिर फोन गरेपछि ती इन्जीनियरले फोन त उठाए तर त्यस क्षेत्रको पानीको लाइनको बन्द गर्ने पोइन्ट थाहा नभएको बताए ।कार्यवाहक अध्यक्ष महर्जनका अनुसार सडक करिब ८ फिट गहिराइ र ८ फिट लम्बाइ जति भासिएको छ ।भासिएको सडकमा दुईजना सवार मोटरसाइकल पनि परेको थियो ।उनीहरुको भने सकुसल उद्धार गरिएको छ ।
भासिएको सडक मर्मत गर्न सडक विभागका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरु तयारी अवस्थामा बसेका छन्।तर केयुकेयलले पानी बन्द गर्न ढीला गर्दा सडक मर्मत गर्न नसकिएको अध्यक्ष महर्जनले सगरमाथाप्रेस डटकमलाई बताए।
उनले भने,‘भासिएको सडक मर्मत गर्न भनेर बिहानैदेखि सडक विभागका कर्मचारी आउनु भएको छ,तर केयुकेयलका इन्जिनियरलाई पानी कहाँ बन्द गर्ने भन्ने थाहा नपाएर अल्मलीनु भएको छ ।त्यती पोइन्ट पनि थाहा नहुने कस्तो इन्जिनियर खटाएको होला ?’
‘ यद्यपि यो सडक विभाग अन्तर्गतको सडक हो तर मेरो वडामा भएको हुँदा कसैले नबनाए पनि म आफैं बनाउँछु ।पानी बन्द त गर्दिन प¥यो नि !’ उनले भने ।‘ भासिएको ७ घण्टा भैसक्यो,बीचबाटोमा भासिएका कारण दोहोरो सवारी आवत जावतमा समस्या भएको छ।अहिलेसम्म पनि पानी यसै बगीरहेको छ ।पानी बन्द नहुँदा सडक मर्मत गर्न सकिएको छैन्।’ उनले अगाडि थपे।
सडक भासिएपछि सवारी चलाउन समेत जोखिम बढेको छ।
काठमाडौं उपत्यकामा विद्युत्, टेलिकम, इन्टरनेट, खानेपानी, ढललगायतका युटिलिटी (लाभ वा उपयोगिता) का कारण पनि सडक बेलाबेला अवरुद्ध भइरहेको देखिन्छन्।
सडक विभाग र सम्बन्धित विभिन्न निकायहरुबीच आपसी समन्वय नहुँदा सडकमा विभिन्न किसिमका समस्या आउने र सडक प्रयोगकर्ताले दुःख र सास्ती भोग्न् बाध्य छन्।तसर्थ सरकारका संयन्त्र र विभिन्न सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्यको खाँचो टडकारो छ ।
