
ताप्लेजुङ । किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहि आएको छ ।
पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात च्योङ्हरू सङ्कलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको याक्थुङ चुम्लुङका अध्यक्ष इन्दिरा मान्याङबोले जानकारी दिए ।
उनका अनुसार सबै परिवार मिलेर अलि सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मिठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुक पड्कन्छन् ।
