
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् ।
प्रदेश सरकारको १३ लाख रुपैयाँ, गाउँपालिका र युएनडीपीको १२र१२ लाख रुपैयाँमा बजेटमा पदमार्ग, आश्रयस्थल, दृश्य अवलोकनस्थल र खानेपानीको पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए ।
पूर्वाधारबाट खोपारा भ्रमणमा आउने पर्यटक, खयर ताल जाने भक्तजन, तीर्थयात्रीहरुलाई सुविधा पुगेको छ । उद्योग तथा पर्यटन कार्यालयमार्फत विनियोजन भएको बजेटबाट खोपारादेखि खयरतर्फ जाने पदमार्गमा एक किलोमिटर २ सय मिटर माटो काटेर र दुई सय ४५ मिटर ढुंगा छापेको पदमार्ग निर्माण भएको कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए । खानेपानी भण्डारण गर्न पाँचवटा ट्याकी राखिएको छ ।
पैदलयात्रीलाई विश्राम गर्नका लागि १६ वटा फलामको बेञ्च राखिएको छ । लाकुशेको मुहानमा ट्यांकी बनाएर पदमार्ग र खोपाराको सामुदायिक लजमा खानेपानीको व्यवस्थापन गरिएको हो । युएनडीपी र अन्नपूर्ण गाउँपालिकाको साझेदारीको कार्यक्रममार्फत चमकी ओडार क्षेत्रको साँघुरो पैदलमार्गको डिलतर्फ ५३ मिटर फलामको रेलिङ राखिएको छ ।
दुई सय ३६ मिटर ढुंगाको सिँढी, सात सय ९८ मिटर माटो काटेको पदमार्ग र दुई ठाउँमा आश्रयस्थल बनाइएको अन्नपूर्ण गाउँपालिका–५ का प्राविधिक रोहित बस्ताकोटीले बताए । राते र सुनौलोमा एकरएकवटा ट्रसले छाएको १० देखि १५ जना बास बस्न सक्ने आश्रयस्थल निर्माण भएको छ ।
खोपाराको सामुदायिक लजको नयाँ भवनको डिलतर्फ पर्खाल बनाएर संरक्षण गरिएको छ । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोपारालाई केन्द्र बनाएर अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।
