
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्ड वर्षायामभर स्तरोन्नति नहुने भएको छ ।
वर्षायामभर कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कर्ल्भट र पर्खाल निर्माणमात्रै गरिने आयोजनाले जनाएको छ ।असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेको छ ।
‘बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ,’ इन्जिनियर पाण्डेले भने, ‘हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्यप्रगति भएको छ ।’ राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्र भइसकेको उनले जानकारी दिए । पूर्वी खण्डमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्र भइसकेको छ ।
