नागार्जुन–७ को जगन्नाथेश्वर मन्दिरमा २७ फिटको त्रिशुल स्थापना गरियो

सीता पौडेल(अर्चना)
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–७ मा अवस्थित ऐतिहासिक सम्पदा ‘जगन्नाथेश्वर मन्दिर’ मा पञ्चधातुद्धारा निर्मित २७ फिटको त्रिशुल स्थापना गरिएको छ।

उक्त त्रिशुल स्थापनार्थ वडा नं ७ को स्युचाटार,पानीटयांकीका ‘फूर्तिला महिला कृषक समुह’को आयोजना र काठमाडौंको ‘श्रीसूर्यनारायण प्रेम सेवा आश्रम’को सह–आयोजनामा गत बिहिबारदेखि शनिबारसम्म वडा नं ७ सँगको समन्य र सहकार्यमा  त्रिदिवसीय प्राण प्रतिष्ठा पुजन गरि शनिबार सो त्रिशुलसहित नन्दी,घण्टा र गजुरको स्थापना गरिएको वडा नं ७ का वडा अध्यक्ष शैलेन्द्र लामाले बताए ।

अध्यक्ष लामाका अनुसार त्रिदिवसीय सो धार्मिक कार्यक्रममा उपस्थित श्रद्धालुभक्तजनहरुलाई मुख्य पंडित नारायण प्रसाद खनालज्युबाट विभिन्न धार्मिक अनुष्ठानसहित शिवमहापुराणका कथाहरु श्रवण गराएर आनन्द प्रदान गरिएको थियो । उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै पंडित खनालले मानिसले जीवनमा सुख,शान्ति,समृद्धि र आनन्द प्राप्तिका लागि धर्म र संस्कृतिको जर्गेना,विकास र प्रवद्र्धन गर्न जरुरी हुने बताए ।

धर्म,संस्कार र संस्कृतिको आत्मसात् गर्नाले जीवन धन्य बन्ने भन्दै उनले नेपाली धर्म,संस्कृति र संस्कार नेपालमा मात्रै नभएर विश्व वा मानव जगतका लागि नै अनुकरण र अनुशरण योग्य रहेको दाबी गरे । कार्यक्रममा पंडित खनालले सभ्य समाज निर्माणका लागि  हामीले हाम्रा सन्ततिहरुलाई संस्कार सहितको शिक्षाा प्रदान गर्नु जरुरी भएको स्पष्ट पारे।

यस्तै सो त्रिदिवसीय कार्यक्रमलाई समापन गर्दै आयोजक समुह– ‘फूर्तिला महिला कृषक समुह’की अध्यक्ष सुष्मा दवाडीले १०८ त्रिशूल महाअभियानको सहयोगका कारण जगन्नाथेश्वर मन्दिरमा त्रिशुल स्थापना गर्न सफल भएको र यस कार्यक्रम सफल पार्न सह–आयोजकको रुपमा रहेर सहयोग गर्ने श्री सूर्यनारायण प्रेम सेवा आश्रम,वडा नं ७ लगायत प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु¥याएका सम्बन्धीत सबै व्यक्ति र संघसंस्थाप्रति आभार व्यक्त गरिन्।

उक्त प्राणप्रतिष्ठा पुजन कार्यक्रको पहिलो दिन ३ गते बिहिबार उल्लेख्य सहभागितामा कलशयात्रा गरेर भव्यताका साथ सम्पन्न गरिएको थियो ।

सो कलशयात्रा जगन्नाथेश्वर मन्दिरबाट शुरु भएर रामकोट स्थित शान्तेश्वर महादेव मन्दिर परिक्रमा गरि अन्य विभिन्न मन्दिरहरुमा समेत जलाभिषेक गर्दै पुनःसोही मन्दिरमा आएर पुजा–आर्चना,भजन,किर्तन,प्रसाद ग्रहणसँगै औपचारिक कार्यक्रम पनि गरिएको थियो ।

त्रिदिवसीय सो कार्यक्रमको अन्तिम दिन कार्यक्रम सफल पार्न सहयोग गर्ने र मन्दिर प्रवद्र्धनार्थ आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न दाताहरुलाई खादा,माला र कदर पत्रले सम्मान समेत गरिएको थियो ।