
सीता पौडेल(अर्चना)
काठमाडौं।आज श्रावण महिनाको पहिलो सोमबार श्री पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुले विषेश रुपमा पूजा–अर्चना गरिरहेका छन्।
यस अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ।कतिपय ठाउँहरुमा पानी परिरहेको भएतापनि यसलाई वेवास्ता गरेर छाता ओडेरै वा रुझ्दै भक्तजनहरु शिवालयमा लामबद्ध भएर पूजा–अर्चना गरिरहेका छन्।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाका अनुसार विशेषत: गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबारका व्रत लिनुपर्ने कुरा सिन्धुलगायतका ग्रन्थमा उल्लेख छ।
विशेषगरि साउन महिनालाई भगवान् शिवजीको महिना र सोमबारलाई भगवान् शिवजीको बारका रुपमा आत्मसात् गर्दै व्रत बस्ने र शिवजीको पूजा–अर्चना गर्ने चलन छ। यसरी ब्रत बसेर पूजा–अर्चना गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

आज भक्तजनहरुको सुविधाको लागि पशुतिनाथमा बिहानै ३ः३० बजेदेखि ४ वटै ढोका खुला गरिएको छ।उमाकुण्ड,जयवागेश्वरी र पिङ्गलस्थान लगायतको ठाउँबाट लाइनको व्यवस्था गरिएको छ।
साथै पशुतिनाथमा विभिन्न संघ–संस्थाहरुले निशुल्कः स्वास्थ्य शिविर,निःशुल्क भोजन,शुद्ध पिउने पानीको व्यवस्था पनि गरेका छन् ।पशुपति क्षेत्रमा आज सुरक्षा व्यवस्था पनि थप कडा बनाइएको छ।विभिन्नन किसिमका संघसंस्थाहरुले स्वयंसेवकको भूमिका निर्वाह गरिरहेका छन् ।
साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोल बम यात्रा गरी जल चढाउने परम्परा छ।जस अनुसार पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ।
पशुतिनाथ परिसरमा साउन १ गतेदेखि इतिहासमै पहिलो पटक र ऐतिहासिक भनेर दाबी गरिएको श्री पशुपति कोटीहोम एवं १०८ श्रीमद्भावगत विश्व कल्याण मासिक ज्ञान महायज्ञ पनि चलिरहेको छ ।

सो कोटिहोम तथा महायज्ञ साउन महिनाभर सञ्चालन हुने आयोजक श्री मानव सेवा फाउण्डेशन नेपालले जनाएको छ ।

