
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०र८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए ।
यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।
यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले जानकारी दिए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।
यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावर प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताए । मृतावस्थामा भेटिएका जनावरमध्ये ७० जनावर प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए ।
